समाचार
संक्षिप्त परिचय
नौमूले गाउँपालिकाः संक्षिप्त परिचय
नौमूले गाउँपालिका दैलेख जिल्लाको सदरमुकाम दैलेख सदरमुकामबाट उत्तरतर्फ कालिकोट जिल्लाको महाबै गाउँपालिकासँग सिमाना जोडिएको गाउँपालिका हो । यो गाउँपालिकाको नाम नौमूले रहनुको कारण साविकको तोलि गा.वि.स. वडा नं. ५ मा रहेको बजारको किनारमा पानीको नौ वटा मूल रहेको हुँदा उक्त बजारलाई नौमूले बजार भनिएको र परापूर्व देखिनै उक्त बजार साबिकको इलाकाको मुख्य बजार रहेकोले यस गाउँपालिकाको नाम नौमूले गाउँपालिका नामाकरण गरिएको हो ।
भौगोलिक अवस्थितिः
नौमूले गाउँपालिका कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतदेखि कि.मि. 96 र दैलेख जिल्लाको सदरमुकाम दैलेख सदरमुकामबाट १9 कि.मि. उत्तरमा अवस्थित रहेको छ । यस नौमूले गाउँपालिकाको पूर्वमा जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिका, पूर्व-दक्षिणमा दैलेख जिल्लाको भगवतिमाई गाउँपालिका, दक्षिण पश्चिममा नारायण नगरपालिका र उत्तरमा कालिकोट जिल्लाको महाबै गाउँपालिका पर्दछ । दैलेख जिल्लाको ११ वटा स्थानीय तहहरुमध्ये आर्थिक दृष्टिकोणले विपन्न, प्राकृतिक, धार्मिक तथा ऐतिहासकि दृष्टिकोणले समृद्ध छ । राजनीतिक रुपमा दैलेख जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पर्ने यस गाउँपालिकाको केन्द्र हाल वडा नं. १ मा रहेको नौमूले बजारमा रहेको छ । यस गाउँपालिकालाई ८ वटा वडाहरुमा विभाजन गरिएको छ । नौमूले गाउँपालिकाको भौगोलिक अवस्थिति यसप्रकार रहेको छः
क) अक्षांशः 28० 54' उत्तरदेखि उत्तर
ख) देशान्तरः 81048' पूर्वी देशान्तरसम्म
ग) समुन्द्र सतहदेखि उचाईः नौमूले गाउँपालिका वडा नं. 8 को झिल्केको 890 मिटर देखि महावु 4168 मिटर लेखसम्म
घ) कुल क्षेत्रफलः 228.59 ब.मि.
जनसाङ्खिक विवरण (जनगणना २०७८ अनुसार)
१. जनसंख्या – १९,६८७
२. जनघनत्वः ८६
३. साक्षरता दरः ७६.३ प्रतिशत (पुरुष ८२.३ प्रतिशत र महिला ७०.९ प्रतिशत)
४. परिवार संख्याः ४,२२३
५. परिवारको औषत आकारः 4.66
६. अपाङ्गता भएका व्यक्तिः २.८ प्रतिशत (पुरुष ३.५ प्रतिशत र महिला २.३ प्रतिशत)
७. लैङ्गिक अनुपातः ९३.०९
नयाँ संरचना अनुसार नौमूले गाउँपालिकाको वडागत विभाजनः
हालको वडा नं. साविक गा.वि.स. साविकको वडाहरु जनसंख्या २०७८ अनुसार क्षेत्रफल वर्ग कि.मि.
१ तोली १-९ 3446 20.23
२ वालुवाटार १-९ 3310 60.04
३ द्धारी १-९ 2681 36.01
४ कालिका १-९ 2299 59.68
५ नौमूले १-९ 1619 11.51
६ सल्लेरी १-५ 2194 13.8
७ सल्लेरी ६-९ 1702 11.26
८ चौराठा १-९ 2436 16.06
भौगोलिक र राजनीतिक विभाजनः
प्रदेशः- कर्णाली जिल्लाः- दैलेख निर्वाचन क्षेत्र नं.- १
प्रदेश निर्वाचन क्षेत्र नं.- १ (क) वडाहरुः- ८ वटा
भूउपयोगः
• कूल खेतियोग्य जमिनः1388.5 हेक्टर
• कूल सिंचित क्षेत्रः 375.4 हेक्टर
• कूल असिंचित क्षेत्रः 1013.1 हेक्टर
हावापानीः
नौमूले गाउँपालिका भौगोलिकाको बनावट र हावापानीमा विविधतायुक्त गाउँपालिका हो । पूर्व, पश्चिम र उत्तरमा अग्ला हिमालहरुले र दक्षिणमा भिरालो डाँडाहरुले घेरिएको यस पालिकाको विचमा साँघुरा फाँटहरु रहेका छन । यस गाउँपालिकाको तल्लो भागहरु फाँट र खोचहरुमा उपोष्ण र माथिका हिमाली भागमा समशितोष्ण हावापानी पाइन्छ । हिउँदको समयमा हिमालहरु हिउँले भरिएको हुन्छ भने वर्षादको समयमा यहाँ औषत भन्दा बढी वर्षा हुन्छ ।
जलवायुः
उपोष्णः 904-1200 मिटर
समशितोष्णः 1200-1800 मिटर
शितोष्णः 1800-2300 मिटर
ठण्डा लेकालीः 2300-4168 मिटर
धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलहरुः
नौमूले गाउँपालिका धार्मिक, एतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थलहरु रहेको पालिका हो l यस पालिकामा मख्यतया हिन्दु, क्रिश्चियन धर्म र मुस्लिम धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । वडा नं. १ को नौमूले बजारमा रहेको शिवमन्दिर सहितको नौ वटा पानीको मूल, भुर्सुमा रहेको माहावई थान, वडा नं. २ को बालुवाटारको सिमानामा अवस्थित दैलेख जिल्लाको सबै भन्दा उच्च स्थान महावु लेकमा रहेको महावई शिला र विभिन्न वडाहरुमा रहेका चर्चहरु पालिकाको प्रमुख धार्मिक स्थलहरु हुन । वडा नं.२, मा रहेको रानी झरना, वडा नं.३ मा रहेको दैलेख जिल्लाको सवैभन्दा अग्लो द्धारी खोला झरना , गिद्द नुहाउने ताल, नौ मूल, चमेरे गुफा, वडा नं.६ मा रहेको बासुधारा मन्दिर र वडा नं. ७ मा रहेको शिवताल पालिकाको पर्यटकीय स्थलको रुपमा रहेका छन् ।
प्राकृतिक सम्पदा, खनिज पदार्थ र जडिबुटीहरुः
नौमूले गाउँपालिका प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँपालिका हो । यहाँ सदावाहर वग्ने लोहोरे खोला, द्धारी खोला, कालिका खोला र चौराठा खोला रहेको हुँदा विद्युत उत्पादनका लागि ठूलो सम्भावना बोकेको पालिका हो । यहाँ हाल २ (दुई) वटा हाइड्रोपावर संचालनमा रहेका छन् भने थप २ (दुई) वटा हाईड्रोपावर निर्माणाधीन अवस्थामा छन् । पछिल्लो समयमा यस पालिका हाईड्रो हवको रुपमा विकसित हुँदै गएको छ ।
यस पालिकाको बालुवाटार, द्धारी र कालिकाको माथिल्लो भेगमा अल्लो तथा बडुवा ,अल्लोधागो लगायत अल्लोजन्य उत्पादनहरु पाइन्छन l यसैगरी खोटो, धुपी, टिमुर, चुके, बन लसुन, खिरौलो, अलैची, पन्यु च्याउ, गुची च्याउ, वन प्याज, पदमचाल्नु, निर्बिसी, सतुवा, पखनवेद, दालचिनी, चुत्रो, बोजो जस्ता अन्य जडीबुटीहरु पालिकाको विभिन्न स्थानहरुमा पाइन्छन् l
वडा नं. ३ को द्वारिखोला झरनाको केहि माथि स्लेट ,पथर ,तुर्मालिन ढुंगाको खानी रहेको अनुमान गरिन्छ l यसैगरी वडा नं.४ को उत्तिसेनिमा काइनेटिक ढुंगाको खानी रहेको छ l
